Jump to content

User:Bidur khadka

From Wikipedia, the free encyclopedia

पवार वंशको उत्पत्ति

पवारहरुलाई प्राचीन क्षेत्रीयवंशी मानिएको छ । यिनिहरुको मूल थलो भारतको उज्जैनगढ धारानगरी हो । धारानगरीमा पहिले पवारवंशीय राजाहरुले राज्य गर्दथे । भारतीय ईतिहासकारहरुले धारानगरीका पवार राजाहरुलाई 'पुवार' 'परमारवंशीय' पनि भन्ने गरेको पाईन्छ । चलन चल्तीमा अहिले पवारलाई पुवार भनिने गरिएको छ ।

पवारवंशको उत्पत्तिका सम्वन्धमा विविध कुराहरु प्रकाशमा आएका छन् । ऋषि वशिष्ठले आफ्नो गाईको रक्षार्थ अग्नीकुण्डकाट परमारवंश (पवारवंश)का आदिपुरुष अभिश्रृष्ट गरेका थिए ।-१ विश्वामित्रबाट नन्दिनी गाईको रक्षाका लागि वशिष्ठले मेरुपर्वतमा यज्ञकुण्डबाट परमार (पवार) उत्पन्न गरे र यिनै परमार भन्ने व्यक्ति पवारहरुका पुर्खा थिए । नन्दिनी गाईको कुरा महाभारतमा अष्टवसुको कथासंगपनि जोडिएको छ यो त्यति विश्वसनीय देखिदैन ।-२ चन्दवरदाईको पुस्तक 'पृथ्वीराज रासो 'मा अग्निकूल सिद्धान्त अनुसार परशुरामले संपूर्ण क्षेत्रीहरु नाश गरेपछि ब्राह्मणहरुले आफ्नो रक्षाका लागि लडाकु जातिको आवश्यकता महसूस गरी आवु पर्वतमा चालिस दिनसम्म होम गरे । सो अग्निकुण्डबाट चौहान, सोलंकी, पवार (परमार) र प्रतिहार चार राजपूत वीरहरु उत्पन्न भए भनिएको छ ।

पवार, चौहान, सोलंकी र प्रतिहारलाई राजपूतहरुको वंश भनिन्छ । यिनीहरुको उत्पत्ति ऋषि वशिष्ठले अग्निीकुण्डबाट गरेका थिए । एघारौं शताव्दिमा रचित 'नवसाहसाङ्कचरित'मा पवारको उत्पत्ति अग्निीकुण्डबाट भएको उल्लेख छ । यो कुरा चालुक्यहरुको बाह्रौं र तेह्रौं शताव्दिको अभिलेखहरुमा पनि पाइन्छ ।

आवु पर्वतमा ऋषिहरुले यज्ञ गरिरहदा राक्षसहरुले खलल गरी अनुष्ठानलाई अपवित्र पारिदिएकाले त्यस्को रक्षार्थ वशिष्ठ ऋषिले तयार पारेको अग्निकुण्डबाट प्रतिहार, चालुक्य र परमार नाम भएका वीरहरु उत्पन्न गरे । यिनीहरुबाट राक्षसहरु भगाउने काम हुन नसकेपछि अर्को अग्निकुण्ड स्थापना गरी चार हात भएका चौहान उत्पन्न गरी राक्षसहरुलाई पराजित गरेको एकार्को मान्यतापनि रहेको छ ।-३ उपरोक्त विवरणहरुबाट पवारवंशको उत्पत्ति अग्निकुण्डबाट भएको हो भन्ने कुरामा शंका रहदैन ।

भारतको मध्य प्रदेश अन्तर्गत पर्ने मालवामा सन ९१० तिर पवार (परमार) वंशको राज्य स्थापना गर्ने उपेन्द्र कृष्णराजलाई मानिएको छ । नवौं शताव्दीमा उपेन्द्र नामका एक सरदारले मालवा जितेर आफ्नो वंशको जग बसालेका थिए । यसको राजधानी धारानगरी थियो । राजा भोज पनि यसै वंशका थिए ।-४ राजा भोज मालवामा सन १०१८ मा राजा भएका थिए भने यिनले ५० वर्ष जति राज्य गरेका थिए । यिन्लेपनि धारानगरीलाई नै राजधानी बनाएका थिए ।

केहि ईतिहासकारहरुले राजकुटका सम्राट गोविन्द तृतीयले नागभट्ट द्वितीयबाट मालव जिते र उनले मालवाका लागि उपेन्द्रलाई सामन्त नियुक्त गरे भनी उल्लेख गरेका छन् । यस्को केहि समय पछि मालवा प्रतिहारहरुले जितेर सन ९४६ सम्म आफ्नो नियन्त्रणमा लिएको देखिन्छ । यस्को केहि समयपछि उपेन्द्रका वंशज बैरीसिंहले पैतृक राज्य मालवा जिते । उनको यस जितका विषयमा एक अभिलेखमा यस्तो लेखिएको छ- 'बैरीसिंहले आफ्नो तरवारको धारद्वारा यो कुरा देखाई दिए कि धारा उनको आफ्नो हो ।'-५ तर मालवामा पवारवंशको स्वतन्त्र राजाको रुपमा सियकहर्ष हुन् ।-६ यस्तै राजस्थान इतिहास दोश्रो भाग पेज ४८५-४८९मा धारानगरी र पवारवंश वीचको सम्वन्धलाई लिएर यो श्लोक दोहा लेखिएको छ-

'जहाँ पँवार तहा धार है जहाँ धार तहा पँवार । धारक बिना पँवार नही निहं पँवार बिन धार ॥'-७

बैरीसिंह पछि मालवामा सियकहर्ष राजा भए । यिनी पछि यिनले धर्मपुत्र बनाएका मुन्ज मालवाको गद्दीमा वसे । तत्पश्चात सियकहर्षका छोरा सिन्धुराज मालवाका राजा भए । यिनी पछि भोज मालवाका राजा भएका हुन् । त्यसपछि क्रमशः जयिसंह र उदयादित्य मालवाका राजा भए । उदयादित्यपछि यिनका कान्छा छोरा जगदेउ यिनलाई जगदेव पनि भनिन्छ सन १०८६ वि.सं. ११४३ मा राजाको जेठो छोरा राजा हुने परम्परा विपरित आफ्ना दाजु नरवर्मालाई हटाएर धारानगरीका राजा भएका थिए । दाजु हुदाहुदै भाई राजा भएकोमा उठेको विरोध साम्य नभएपछि आठ वर्ष राज्य गरेपश्चात सन १०९४ बि. सं. ११५१ मा दाजुलाई नै राज्य सुम्पी जगदेउ मानसरोवर तिर लागेका थिए र मानसरोवर तिर्थ गरी बझाङको बाटो फर्केका थिए । -८

जगदेउका सन्तान कर्णाली क्षेत्रमा रहन थालेपछि उनीहरुले कामका आधारमा खडका पद धारण गरेको देखिन्छ । पवारवंशी खडकालाई खडका पदवी दिएको ताम्रपत्रमा 'रजवारी चलाइखाने ताम्रपत्र गरिदिई खड्का पदवी दिएको' उल्लेख छ ।-९ त्यहाँ हालपनि जेठो व्यक्तिलाई रजवार भनिन्छ । खडकालाई रजवार भनिने गरेको कुरा डोटीको षिरसेन भुवनेश्वरी स्थानमा रहेको घण्टमा '… ह. रण बहादुर वीर वीर बहादुर खड्गा रजवारले चढाएको घंटा...' लेखिएकोले पनि पुष्टि हुन्छ ।-१०

त्यस क्षेत्रका केहि भागमा यी खडकाहरुले राज्य गरेको प्रमाणहरुपनि भेट्टिएका छन् । पवार खडकाहरुले राज्य गरेका ठाउहरुमा बैतडीको ढिक पुर्चडी, बझाङको थलरा कालिकोट र जुम्लाको केहि भाग समेत रहेको छ । मोत्यैराज पवारले हाल बझाङको सुवाकोटका राजालाई मारी राजा भएका थिए । सुवाकोटमा पवारवंशको तीन चार पुस्तासम्म राज्य रहेको पाईएको छ ।

पवारवंशीहरुको पहिचान उनिहरुमा सन्निहित स्वाभिमान हो । पवारवंशीहरु स्वाभिमानी हुन्छन भन्ने उनिहरुको अतीतले बताउछ । कसैसंग नझुक्ने कसैको दवाव नसहने सदा सत्यका लागि अग्रसर रहने अन्याय र अत्याचार बिरुद्ध उभिने स्वभाव पवारहरुमा रहेको छ ।

पश्चिमबाट पूर्व लाग्ने पवारहरुका एक भाई डोटी एक भाई पाल्पा एक भाई लम्जुङ र एक भाई पर्वत बसेको कुरा उल्लेख भएको पाईन्छ ।-११ तत्कालीन पर्वत राज्यमा आउने पहिला व्यक्ति चक्र पवार मानिएको छ र यिनी पर्वतका राजा प्रतापी नारायणको राज्यकालमा विसं १५९१-१६००वीच पाल्पाबाट कालिका देवीको खड्ग समाती आएका हुन् ।-१२

चन्द्र बहादुर खडकाको 'चिलंखे खडका (एक छोटो चिनारी)' नामक पुस्तकमा पुवार खडकाहरुको प्राप्त वंशावली भनी यस्तो लेखिएको छ-"..श्री पुवारको बंसा.वाल. प्रथमा श्री बचिष्ट रिषिले श्री गंगासागरमा जाई तपस्या गरेर. सन्तुष्ट भइन्. येक गाईकि बाछि. निस्कन् . तिबाछिलि रिषिश्वर . उज्ज्यान वनमा गया . ताहि बसि ति गाईको सेवा गरि बस्याका थिया ॥ तेसै बनमा श्री बिश्वोमित्र राजा . सिकार गया . रातताहि बस्या तेस् राजाको षान साम्रगि . जस् माफिक्को ज्या चाहिथ्यो . तिन गाईका भकाराबाट निस्कदा ई गाईता लैजाउ भनि जफद् गर्दा ॥ सिपाहि निस्के. तेले सुक्र मारे ताहा रजाये ॥ पुवारको गोदारको चदेल्को चुहान्को ई ॥४॥ थरको बंसावलि रिषेश्वरले समुन्द्रको तपस्या गरि पायाको. प्रथमा बचिष्ट रिषेश्वर श्री कामधेनु गाई लि उज्यान वनमा तपस्या गरिबस्याथिया . तेस बनमा . राजा विसोमित्र सिकारमा गया रात् ताहि बस्याका थिया । भोली बिहयानै कामध्येनु जफत गरि लैजादा. कामध्येनु संपुर्ण भईन् . पवनबाट प्रगास् भयाका पद्मदेउ पुवार १ गोद्बाट प्रगास भयाका गोदार १ सिरबाट प्रगास भयाका चदेल १ रालबाट प्रगास भयाका चुहान् १ श्री कामध्येनुका फुंअकारबाट उत्पन्न भयाका पद्म देउ पुवार १ पद्म देयका उपदेउ भया . उपदेउका आनन्ददेउ भया . आनन्ददेउका संषदेउ भया . संषदेउका जलमदेउ भया . जलमदेउका हरिदेउ भया . हरिदेउका जलसागर देउ भया . जलसागरदेउका गंगासागरदेउ भया गंगासागरका कालाबादिल् भया काला बादिलका गोरा बादिल भया . गोराबादिलका जैसि भया . जैसिका उपदेउ भया . उपदेउका जगदेउ भया . ताहा छि . उप्रान्त. पदुमिनिका कार्नमा श्रीबाछाहा संग इतराजि प्रदा उज्यान् छाडि. गढ चितवर . आई सामेल भया . ताहा देषि उप्रान्त दिसा दिसा लाग्या . कोहि गढ रहया . कोहि कालितरे दिसादि लाग्या। भाइ पुवार . डोटि ढिक पुर्चुडि . मानिस षान्या राजा मारे . ताहि रस्ता बसाले श्रीकालिदेविको पुजा गर्दा काम बाडे . जेठाले षडग लिया. षडका बोलाये. येकाले कालिको थापना गरे थापा बालाया. करत्तिकाम यकाले लिया बिष्ट बोलाया येकाले षजन्चि काम लिया . दानि बोलाया येकाले श्रीका बोक्या बुढाथेकि बोलाया . ताहा प्रान्त आफ्ना मन परेका ठाउँमा गया . १ भाई डोटि रहया १ भाइ लम्जुं रहया १ भाइ प्रवत् रहया -- पुवारको गोत्र . अथ गोत्र . कपिल गोत्राय कपिल आदर . पद्मदेव . कात्यायानि . देबराज . पंचै प्रवराये . क्षेत्रि माउन्डि . साषाये . साषोन्त्रफद गंगा . सागर . नदि उज्यान बन . धारनगर . श्री कालिका देवि श्री मादेव भबन्न्याशोराये . धनुवेदाध्याईन्या तथा---"

यस वंशावलीका विषयमा लेखक चन्द्र बहादुर खडकाले 'पितृहरुलाई पिण्ड पानी तर्पण दिनका लागि वि.सं. १८७४मा पितृ-बहि तयार पार्दा यो वंशावली पनि बिष्णुगजाधर खडकाका बाजे दृपसिंह खडकाले आफ्नै हस्ताक्षरबाट टिपोट गर्नु भएको' भनि उल्लेख गर्नु भएको छ तसर्थ यो आजभन्दा करिव १ सय ९० वर्ष पहिले तयार पारिएको टिपोट हो ।

यस वंशावलीका बारेमा श्याम बहादुर खडकाले आफ्नो 'बझाङ : किम्वदन्ती र ईतिहास' पुस्तकको पवारवंश संवन्धी ऐतिहासिक अध्ययन शिर्षकमा यसरी टिप्पणि गर्नु भएको छ- 'चन्द्र बहादुर खडकाद्वारा उल्लेख गरिएको वंशावली सम्वन्धमा विचारगर्दा त्याहाँका नामहरु काल्पनिक जस्ता देखिन्छन् । रानी पद्मिनीका सम्वन्धमा बादशाहसंग तकरार परेको भन्ने जुन उल्लेख गरिएको छ उक्त कुरा पवारवंशीहरुसंग असम्वन्धित छ । जगदेव पवार एघारौं शताव्दिको अन्ततिर र बाह्रौं शताव्दिको शुरुवाततिर जुम्लाको बाटो मानसरोवरको तीर्थयात्रा गर्न आएका थिए । तर रानी पद्मिनीको सम्वन्धमा भएको विवाद ई. सन १३११ मा मात्रै देखिएको छ । उक्त कुरालाई लिएर पवारहरुले विवाद गर्नुपर्ने कुनै प्रश्न उठ्दैन । वंशावलीमा उल्लेख भएको चितौडीगढ ई. सन् १३११ मा मात्रै स्वतन्त्र राज्यको रुपमा उदय भएको थियो । पवारवंशीहरु सेना लिएर चितौडीगढलाइ सहयोग गर्न आउन सक्ने संभावना देखिन्छ । तर पुस्तावली जुन शैलीमा लेखिएको छ त्यसलाई काल्पनिक घटना र नामहरु जोडिएको जस्तो देखिन्छ ।' यस टिपोटमा दोलखाको चिलंखामा पुवार खडकाहरुको आगमन कहिले कहाबाट भयो भन्ने विषयमा उल्लेख गरिएको देखिदैन । '

रानी पद्मिनीका विषयमा 'पुवार खडका संक्षिप्त परिचय' नामको सानो पुस्तिकामा (वंशावलीमा) उल्लेखित कुराहरुलाई पुष्टि दिन चन्द्र बहादुर खडकाले भारतीय लेखक डा. एस. एल. श्रीवास्तवको 'दि सुल्तानेत अफ दिल्ली' नामक पुस्तकवाट उद्धृतगर्दै यस्तो लेख्नु भएको छ- 'वंशावलीमा पद्मिनीको कारण वादशाहसंग इतराजी पर्दा यिनीहरु उज्जैनबाट गढ चितौर आई त्यहाँबाट विभिन्न दिशातर्फ लागेका र त्यसमध्ये केही पुवारहरु काली तरी नेपाल तर्फ आएर एक भाई पुवारले डोटीको ढिकपुर्चुण्डीमा मानिस खाने राजा मारी राज्य बसालेको कुरापनि उल्लेख भएको पाइन्छ ।

यस सम्वन्धमा इतिहास तर्फ दृष्टि दिँदा दिल्लीमा सुल्तान अल्लाउद्दिन खिलजीले शासन गरेको समयमा चितौरमा राजपूत राजा रत्निसंह राज्य गर्दथे । उनकी पत्नी पद्मिनी त्यतिवेला नाम चलेकी सुन्दरी थिईन् । त्यहि सुन्दरताको कारण सुल्तान अल्लाउद्दिन पद्मिनीलाई आफ्नो बनाउन चाहन्थे । त्यसकारण सुल्तानले चितौरमाथि हमला गरी आफ्नो कव्जा जमाए । तर पद्मिनीले भने शत्रुको हातमा पर्नु अघि नै अग्नीमा फालहाली आत्महत्या गरिन् ।'

डोटीको ढिकपुर्चुण्डीमा मानिस खाने राजा मारी पुवारले राज्य बसालेको वंशावलीमा उल्लेखित सन्दर्भलाई चन्द्र बहादुर खडकाले सोही पुस्तिकामा यो किम्वदन्तीले पुष्टि गर्न खोज्नु भएको छ- 'एकपटक ढिकपुर्चुण्डीमा एक राजा थिए । तिनलाई मानिसको मासु खुव मीठो लाग्थ्यो । त्यसैले तिन्ले आफ्नो राज्यमा पालैपालो प्रत्यक घरबाट एउटा मानिस राजाको शिकारको लागि राजा कहाँ जानुपर्ने चलन चलाएका थिए ।

एक दिन एउटा बटुवा साँझमा वास बस्न एक घरमा पुग्यो । राती त्यस घरका जहानहरुमा निकै रुवावासी भएको ती बटुवाले सुने । त्यस्को वास्तविकता बुझ्न उनले घर धनी सँग सोद्धा घर धनीले बताए- 'भोलि बिहानै हाम्रो घरबाट एकजना राजाको शिकारको लागि राजा कहाँ जानु पर्छ । म भन्छु मेरो बृद्ध अवस्था भएकोले मैले जानु राम्रो हुन्छ । तर छोरा भन्छ म हुँदाहुँदै तपाईँ जान हुँदैन म जान्छु । यसै कुराले घरमा रुवावासी भैरहेकोछ ।'

यो कुरा सुनेपछि ती बटुवाले उनिहरुको बदला आफु राजाको शिकारको लागि जाने प्रस्ताव राखेर घरधनीलाई बडो मुस्किल साथ मनाए ।

उता राजाले शिकारको लागि आउने मानिसलाई आफ्नो दरवारमा रहेको कालीको मन्दिर अगाडी लगी तेलको कराही माथि निहुरिएर आफ्नो छाँया हेर्न लगाउथे र त्यसै बखत खड्गले काट्ने गरेका थिए । यो कुरा ती बटुवाले घरधनीबाट थाहा पाईसकेका थिए । भोलिपल्ट जब उनी राजा कहाँ पुगे । राजाले उनलाई कराहीमा आफ्नो छाँया हेर्न भने । तर बटुवाले कसो गर्ने हो आफुले नजानेको हुदा एक पटक राजाले गरेर देखाई दिन आग्रह गरे । जब राजाले बटुवालाई सिकाउनको लागि कराहीमाथि झुकेका मात्र के थिए बटुवाले आफुसंग लुकाई लगेको खड्गले राजालाई काटिदिए र केहि समय त्यहाँ राज्य गरेका थिए । यस किम्वदन्तीबाट पनि ढिक् पुर्चुण्डीमा मानिस खाने राजा मारी पुँवारले राज्य बसाले भनी वंशावलीमा उल्लेख भएको कुरालाई पुष्टी गर्न केहि हदसम्म बल मिल्छ ।

यहाँ चर्चा गरिएको िकंवदन्ती यो लेखकले सानै उमेरमा दन्त्य कथामा पढेकोमात्र नभई यस्तै खाले लोक कथाहरु बुढापाकाहरुबाट बच्चाबच्चीमा सुनेको हो । तर ती कथाहरुमा कतै मानिस खाने राक्षस भनिएको हुन्थ्यो त कतै के ।

विभिन्न विद्वानहरुले जगदेउका सन्तानहरु कर्णाली क्षेत्रबाट क्रमशः पूर्व दिशातिर लागेको उल्लेख गरेका छन् । यसैक्रममा बागलुङमा पवार खडकाका पुर्खा चक्र पवार सोह्रौं शताद्विको अन्त्यतिर वि.सं. १५९१ मा आएका थिए । अठारौ शताद्विको सुरु तिर दोलखा जिल्लामा खडकाहरु पश्चिम तर्फबाट आएर बसोबास गरेको चन्द्र बहादुर खडकाले उल्लेख गर्नु भएको छ । नयाँ राज्यको स्थापनाको खोजीमा या नयाँ नयाँ ठाउको भ्रमणको अभिलाषाले वा शिकार गर्ने हेतुले होस् वा अन्य कारणवस आ-आफ्नो खुशीले पश्चिमबाट पूर्वतिर लागेका जगदेउका सन्तानहरु हाल नेपाल अधिराज्यका विभिन्न भागमा फैलिएर रहेकाछन् ।

पाद टिप्पणी १- डा. रामशंकर त्रिपाठी- प्राचीन भारतका इतिहास पेज २७० / चन्द्र बहादुर खडका- पुवार खडका सक्षिप्त चिनारी पेज ३ । २- श्याम बहादुर खडका- बझाङः िकंवदन्ति र इतिहास पेज १८१ । ३- ऐजन पेज १८१ । ४- डा. त्रिपाठी- पूर्ववत पेज २७० । ५- खडका- पूर्ववत पेज १७४ । ६- ऐजन- पेज १८१ । ७- राजस्थानका इतिहास दोश्रो भाग पेज ४८५-४८९ । चन्द्र बहादुर खडका- पुवार खडका सक्षिप्त चिनारी पेज ३ । ८- खडका- पूर्ववत पेज १९१ ।

९- ऐजन- पेज १९२ ।

१०- योगी नरहरिनाथ- इतिहास प्रकाशमा सन्धिपत्र संग्रह ११- चन्द्र वहादुर खडका-चिलंखे खडका एक छोटो चिनारी पेज २ । १२- पर्वते मल्ल राजाको वंशावली ।

  साभार : 'बागलुङका पवार खडका- बिदुर खडका' बाट